काठमाडौँ, ७ चैत
राष्ट्रपति डा रामवरण यादव र सभामुख सुवास नेम्बाङबीच शान्ति प्रक्रिया, संविधान लेखनलगायत समग्र मुलुकको राजनीतिक अवस्थाका बारेमा आज विचारविमर्श भएको छ ।
राष्ट्रपति भवन, शीतलनिवासमा भएको सो विचारविमर्शमा सभामुख नेम्बाङले शान्ति प्रक्रिया र संविधान लेखनको आधार तयार भएको, दलहरुबीचको विमति पहिचान भएको तथा संविधानसभाअन्तर्गतका ११ वटै विषयगत समितिको प्रतिवेदन संवैधानिक समितिमा प्रवेश गरेको राष्ट्रपतिलाई जानकारी गराए ।
उनले दलहरुबीच पछिल्लो समयमा सहमति कायम गर्ने प्रक्रिया द्रुतरुपमा चलेको र त्यसले निर्धारित समयमा संविधान जारी गर्न सकिने आधारसमेत तयार गरेकोबारे राष्ट्रपतिलाई अवगत गराएको वताए ।
सो अवसरमा राष्ट्रपति डा यादवले संविधान लेखन र शान्ति प्रक्रियाका बारेमा भइरहेको प्रगतिबारे सभामुखसँग जिज्ञासा राखेका थिए ।