काठमाडैँ, ६ चैत
माओवादी सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले राजनीतिक दलहरुबीच सहमति नभएसम्म सेना समायोजन हुन नसक्ने बताएकाछन ।
माओवादी सेनाको पाँचौ डिभिजनका कमान्डर राजबहादुर बुढाद्वारा लिखित ‘जङ्गको मैदानमा’ नामक संस्मरण पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
दलहरुबीच सहमति भए दुई महिनाभित्रै सेना समायोजन तथा संविधान लेखन कार्यलाई पूर्णता दिन सकिने बताउँदै प्रवक्ता खनालले भने “अघिल्लो सरकारका पालामाझैँ एमाओवादीलाई यो मन्त्रायलय दिने, त्यो मन्त्रालय नदिने भनेर विवाद झिक्ने हो भने चार वर्षमा पनि संविधान बन्दैन ।”
उनले आफ्नो पार्टीले माओवादी सेनाको छुट्टै फोर्स, सबै सुरक्षा यन्त्रलाई मिलाएर मिश्रित फोर्स र युनिट–युनिट रुपमा सेना समायोजन हुनसक्ने तीनवटा खाकाबाहेक अन्य खाका प्रस्तुत नगरेको प्रस्ट पारे ।
प्रवक्ता खनालले यी तीनवटा खाकाबाहेक अन्य विषयमा छलफल नै नभएको बताउँदै भने “पछिल्लो समयमा मिश्रित फोर्स बनाउने कि भन्ने कुरा आएको छ, तर यसमा कुनै प्रगति भएको छैन ।”
उहाँले नेपाली सेनाले आफ्नो स्थापित मान्यतामा मात्र जनसेनाको समायोजन हुनसक्छ भन्ने धारणा युक्तिसङ्गत नभएको बताए