नेपालगन्ज, २ चैत
नेकपा (एमाले) का नेता केपी ओलीले एकीकृत (माओवादी)ले गठन गरेको स्वयम्सेवक दस्ता वाइसिएल सङ्गठनको नाम फेरिएको बदनाम जमातमात्र भएको टिप्पणी गरेकाछन् । उनले माओवादी ब्यवहारका कारण संविधान लेखन कार्य सन्तोषजनकरूपमा अघि बढन नसकेको बताएकाछन ।
प्रेस चौतारी, बाँकेद्वारा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भन्नुभयो— ‘यदि समयमा संविधान जारी भएन भने यसको सम्पूर्ण दोष एकीकृत नेकपा (माओवादी)ले लिनुपर्छ ।’
शान्तिप्रक्रियाको आधारभूत पक्ष माओवादी लडाकू समायोजन भएको तर, सो प्रक्रिया सार्थकरूपमा अघि बढ्न नसकेकाले पनि समयमा संविधान जारी हुनेमा आशङ्का छ, उनको भनाइ थियो ।
एकीकृत (माओवादी)लाई सरकारको नेतृत्व कहिले हस्तान्तरण गर्ने ? प्रश्नको जवाफमा नेता ओलीको कथन थियो ‘सरकारको नेतृत्व हस्तान्तरणका लागि ‘मिति’ होइन माओवादीको ‘नीति’ परिवर्तन हुनुपर्छ ।’
एकीकृत (माओवादी)ले गठन गरेको स्वयम्सेवक दस्ता वाइसिएल सङ्गठनको नाम फेरिएको बदनाम जमातमात्र हो उनको टिप्पणी थियो ।