काठमाडौँ, १ चैत
संवैधानिक समितिको आज बिहान बसेको बैठकले नयाँ संविधानका विवादित विषयहरुमा सहमति जुटाउन गठित उपसमितिको म्याद यही चैत १५ गतेसम्म थप्ने निर्णय गरेको छ ।
संवैधानिक समितिद्वारा गत फागुन १७ गते एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित सो उपसमितिले संविधान निर्माणमा देखिएका ७५ वटा विवादमध्ये ३८ वटा विवादमा सहमति गरी आजको बैठकमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
उपसमितिको म्याद फागुन ३० गतेसम्मका लागि तोकिएको थियो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समितिका सदस्य एवम् प्रधानमन्त्री झलनाथ खनालले उपसमितिले अत्यन्त मेहेनतसाथ प्रतिवेदन तयार गरेको तथा न्यायपालिका र व्यवस्थापिकासम्बन्धी विवाद टुङ्ग्याएको बताए ।
उनले अर्को १५ दिनका लागि उपसमितिको म्याद थपेर संविधानका सबै विवादित विषयहरु टुङ्ग्याइने दाबी गरे । एकीकृत नेकपा (माओवादी)का नेता देव गुरुङले उपसमितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल भएको र अझ ३७ वटा विषयमा सहमति हुन बाँकी रहेकाले १५ दिन म्याद थपिएको उल्लेख गरे ।
संविधान निर्माणमा राज्य पुनःसंरचना, शासकीय स्वरुपलगायतका महत्वपूर्ण विषयहरुमा दलहरुबीच सहमति जुट्न बाँकी नै रहेको छ ।