काठमाडौँ, २९ फागुन
नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले त्यसलाई समायोजन गर्न आज मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु नौ र हवाई इन्धनमा प्रतिलिटर रु १० मूल्य बढाएको छ ।
निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले शनिबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जानकारी दिए । मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर रु ९७ र हवाई इन्धन रु ९० पुगेको छ । निगमका प्रवक्ता ढुङ्गेलले मूल्य समायोजनापछि निगमको रु १९ करोड ३० लाखले घाटा कमी हुने बताए ।
अहिले निगमको वार्षिक घाटा रु एक अर्ब ३३ करोड ९२ लाख रहेको उनले बताए । अहिले पेट्रोल भारतमा भन्दा नेपालमा प्रतिलिटर एक रूपैयाँ ७३ पैसा र हवाई इन्धन १० रूपैयाँ ३४ पैसा सस्तो रहेको छ