काठमाडौँ, २९ फागुन
प्रधानमन्त्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम मौजूदा मन्त्रिपरिषद्मा सामेल चारजना मन्त्रीहरूलाई कार्यभार थप गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई सूचना तथा सञ्चार, कानुन तथा न्याय, भूमिसुधार तथा व्यवस्था र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी मन्त्री टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण र श्रम तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री वर्षमान पुनलाई शान्ति तथा पुनःनिर्माण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी मन्त्री खड्गबहादुर विश्वकर्मालाई पर्यटन तथा नागरिक उड्डयन, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।