काठमाडौँ, २९ फागुन
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिको आजको आठौँ बैठकमा नयाँ संविधानको नामलगायत अन्य विषयमा छलफल सुरु भयो ।
उपसमितिका सदस्य माधवकुमार नेपालको संयोजकत्वमा बसेको बैठकमा नागरिकको मौलिक कर्तव्य, नेपाली सेनालगायतका टुङ्गो लाग्न बाँकी विषयमा पनि छलफल सुरु भएको समितिका सचिव टेकप्रसाद ढुङ्गानाले जानकारी दिए ।
फागुन २७ गते बसेको उपसमितिको बैठकमा नयाँ संविधानमा सर्वाेच्च र संवैधानिक गरी दुई प्रकारका अदालत रहने सहमति भएको थियो । सहमति जुट्न अब ३८ वटा विषयहरू बाँकी रहेका छन् । उपसमितिको अर्काे बैठक भोलि बिहान ८ः३० बजे बस्नेछ ।