काठमाडौँ, २७ फागुन
सेना समायोजनको प्रारूप र खाका तयार गर्न आवश्यक छलफल गर्नुपर्ने भन्दै आज बिहान बस्ने भनिएको सेना समायोजन विशेष समितिको बैठक सारिएको छ ।
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालबीच सेना समायोजनका बारेमा अझै स्पष्ट हुन बाँकी रहेको भन्दै आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सारिएको समितिका सदस्य डा रामशरण महतले जानकारी दिए ।
‘करिब एक घण्टादेखि बैठक बस्छ भनेर उपस्थित भइयो,’ बैठककक्ष सिंहदरबारबाट बाहिरिनेक्रममा डा महतले भने – ‘अहिले आएर प्रधानमन्त्री र एनेकपा (माओवादी)का अध्यक्षबीच थप छलफल भएपछि मात्र बैठक बस्ने जानकारी गराइयो ।’
समिति मातहतको सचिवालयका कर्मचारीले खबर गरेपछि बैठक बस्ने भन्दै डा महतलगायत समितिका सदस्यहरू बाहिरिएका थिए ।
यसअघि हिजो राति अबेरसम्म बसेको बैठक एकीकृत नेकपा (माओवादी)का लडाकू शिविरमा आवश्यक जनशक्ति खटाउने विषयमा सहमति कायम हुन नसकेपछि बिनानिष्कर्ष टुङ्गिएको थियो ।
एनेकपा (माओवादी)का तर्फबाट तीन दलका शीर्ष नेताहरूले गरेको निर्णयअनुसार विभिन्न जिल्लामा रहेका मुख्य र सहायक गरी २८ वटा शिविरका लडाकूको रेखदेख गर्न जनशक्ति खटाउने विषयमा प्रतिवद्धता आउन नसकेपछि सहमति हुन सकेको थिएन ।
पत्रकारद्वारा सोधिएको सुरक्षासम्बन्धी एक प्रश्नमा डा महतले सुरक्षा घेरामा रहेका व्यक्तिलाई जेलभित्र दिनदहाडै गोली प्रहार हुनु सुरक्षा संयन्त्रको कमजोरी हो भने ।
उनले मुलुकमा अहिले कानुनी राज समाप्त भइसकेकाले नियमानुसार नियुक्त भएका चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका निर्देशकलाई काम गर्ने अवसर नदिएर उल्टै लखेटिएको छ भने ।