काठमाडौँ, २६ फागुन
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक समितिद्वारा गठित उपसमितिको आजको बैठकमा भावी संविधानमा उल्लेख गरिने न्यायप्रणालीका विषयमा छलफल भयो ।
स्वतन्त्र न्यायपालिका रहने विषयमा सहमति भएको र संवैधानिक अदालत र सर्वाेच्च अदालतको व्यवस्था कस्तो गर्ने र ती अदालतका क्षेत्राधिकार कस्तो रहने भन्ने विषयमा भने छलफल जारी रहेको उपसमितिका सदस्य डा प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
उनका अनुसार ती अदालतका क्षेत्राधिकार एवम् विधायिकाले नै संविधानको अन्तिम व्याख्या गर्ने कि अदालतले गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
आफैंले कानुन बनाउने, आफैं अन्तिम व्याख्याता हुन नहुने र न्यायपालिका नै संविधानको व्याख्याता हुनुपर्ने पनि तर्क समितिको बैठकमा उठेको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले भने ‘ आजको बैठकमा स्वतन्त्र न्यायपालिका रहनुपर्ने विषयमा भने सहमति भयो । ’ भावी संविधानमा कस्तो न्यायपालिकाको व्यवस्था भन्ने विषयमा भोलिको बैठकले सहमति जुटाउने संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले विश्वास व्यक्त गरे । बैठक भोलि पनि बस्नेछ ।
सभापति आचार्यका अनुसार अब चारवटा विषयगत समितिका प्रतिवेदनमा रहेका विवादित विषयको समाधान खोज्न बाँकी रहेको छ ।