काठमाडौँ, २६ फागुन ।
प्रधानमन्त्री झलनाथ खनाललाई अमेरिकाका पूर्वराष्ट्रपति तथा कार्टर सेन्टरका अध्यक्ष जिमी कार्टरले आज बिहान टेलिफोन गरी नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणको स्थितिका सम्बन्धमा चासो व्यक्त गरेकाछन ।
उनले टेलिफोनमै प्रधानमन्त्री खनाललाई नयाँ जिम्मेवारी बहन गरिरहँदाको अनुभूतिप्रति चासो राख्दै बधाई तथा शुभकामना ज्ञापन गरेको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
करिब १० मिनेटको कुराकानीका क्रममा कार्टरले आफू र अमेरिकी सरकार नेपालको नवगठित सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै प्रधानमन्त्री खनालप्रति अन्तरहृदयको शुभेच्छाका साथ भने– ‘म एकदमै विश्वस्त छु, तपाइँ सफल हुनुहुनेछ ।’
सो अवसरमा पूर्वराष्ट्रपति कार्टरले शान्तिप्रक्रियाको प्रगति सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्री खनालले शान्तिप्रक्रिया क्रमशः अगाडि बढेको र यसलाई यथाशक्य छिटो टुङ्ग्याएर अघि बढ्न आजै सेना समायोजनसम्बन्धी विशेष समितिको बैठक बोलाइएको पनि उल्लेख गरे ।