काठमाडौँ, २५ फागुन
शिक्षकका निम्ति सरकारले तोकेको न्यूनतम् सेवा, सर्त र सुविधा कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले आज देशभरका निजी विद्यालय बन्द गरियो । नेपाल संस्थागत विद्यालय शिक्षक युनियनले विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन गराउनका निम्ति आज करिब आठ हजार निजी विद्यालयमा पठनपाठन ठप्प पारेको हो ।
युनियनले २०६६ साल कात्तिक ११ गते निजी विद्यालयमा शिक्षक नियुक्ति, प्रचलित तलबभत्ता, सञ्चयकोष, बिदा, बिमा, उपदानलगायतका सुविधा सुनिश्चित गराइनुपर्ने विषयमा सम्झौता गरेको थियो ।
युनियनका अध्यक्ष होमबहादुर थापाले निजी विद्यालयका शिक्षकहरुमाथि भइरहेको शोषण र शिक्षाको व्यापारीकरणलाई अन्त्य गरी बिनाअनुमति सञ्चालित विद्यालयलाई कानुनको दायरामा ल्याउन प्याब्सन, एनप्याब्सन, विद्यालय सञ्चालकलाई दबाब दिन आज गरिएको शैक्षिक हड्तालले सहयोग पु¥याउने प्रतिक्रिया दिए ।