काठमाडौँ, २५ फागुन
नवनियुक्त रक्षामन्त्री विष्णु पौडेलले माओवादी लडाकूको समायोजन अन्तरिम संविधान र शान्ति सम्झौता अनुरुप नै हुने वताएका छन् । विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मार्ग निर्देशन र मर्म अनुरुप समायोजन गर्ने वताएकाछन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरे लगतै वताएका हुन् ।
पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले मुलुक विशिष्ट खालको सङ्क्रमणकालमा रहेकाले दलहरुबीच सहमति कायम गरी शान्तिप्रक्रिया र संविधान लेखनको कार्यलाई शीघ्रता प्रदान गर्ने बताए ।
मन्त्री पौडेलले हत्या, हिंसा मुलुकबाट सदाका लागि अन्त्य गर्न र बाँकी अवधिमा सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्न सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । नेपाली सेना राष्ट्रिय गौरव भएको चर्चा गर्दै उनले मुलुकको अखण्डता, सार्वभौमको रक्षा गर्दै आएको नेपाली सेनालाई युग सुहाउँदो लोकतान्त्रिक र व्यावसायिक बनाउँदै लगिने बताए । रक्षामन्त्री पौडेलले भने– ‘नेपाली सेना साँचो अर्थमा व्यावसायिक सेना हो, राष्ट्र र जनताको हित नै उसको विशेषता हो ।’
जनआन्दोलन भाग–२ शान्तिपूर्ण हुनु र मानवीय धनजनको कम क्षति हुनुमा नेपाली सेनाको दूरदर्शितापूर्ण कार्य भएको टिप्पणी गर्दै उनले परिवर्तनलाई आधार र सम्मान गर्दै आफूलाई सोहीअनुरुप लोकतान्त्रिक बनाउने काममा सेना लागिरहेको आफूले पाएको बताए ।
अझै पनि ४७ प्रतिशत सेना बङ्करमा कष्टकरपूर्ण ढङ्गबाट जीवनयापन गरिरहेको भन्ने आफूले सूचना प्राप्त गरेकाले त्यो अवस्थाबाट मुक्त गरी मानवोचित जीवन बाँच्ने व्यवस्थाका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।