पूर्वप्रम भट्टराईको राजकीय सम्मानका साथ अन्त्येष्टि

Read Time:2 Minute, 36 Second

काठमाडौँ, २२ फागुन

नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानका साथ आज अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । स्वर्गीय भट्टराईको पार्थिव शरीरमा उहाँका भतिज प्रमोद भट्टराईले मुखाग्नि दिएका थिए । स्वर्गीय भट्टराईको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोक धुन बजाउनुका साथै १३ तोपको सलामी दिएको थियो ।

त्यसअघि नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सन्तनेता भट्टराईको पार्थिव शरीरमा नेपाली काँग्रेसको चारतारे झण्डा ओडाएका थिए । त्यसैगरी उक्त दलका वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु, विभिन्न भ्रातृ सङ्गठनका पदाधिकारी, नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए  ।  

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीगण,  विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र सर्वसाधारणले पनि स्वर्गीय भट्टराईप्रति श्रद्धासुमन अर्पण गरेका थिए  । भट्टराईप्रति श्रद्धासुमन अर्पण गर्न पशुपति आर्यघाटमा जनसाधारणको ठूलो भीड लागेको थियो । त्यहाँ एकत्रित जनसमुदायका आँखा अश्रूपूर्ण थिए ।

यसअघि, दिउँसो २ बजे दशरथ रङ्गशालाबाट सुरु भएको शवयात्रा सुन्धारा, रत्नपार्क, बागबजार, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।  शवयात्रामा सामेल नेता, कार्यकर्ता र शुभेच्छुकले ‘किसुनजी अमर रहुन्, नेपाली काँग्रेस जिन्दावाद’ ‘जय नेपालको नाराले मुक्ति पाए साराले’ लगायतका नारा लगाएका थिए । शवयात्रामा सहभागीहरुलाई स्थानीयवासीले पानी छर्केर स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %