काठमाडौँ, २१ फागुन
राष्ट्रपति डा रामवरण यादवले नेपाली काँग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको देहावसानबाट आफू अत्यन्त मर्माहत भएको बताएकाछन ।
राष्ट्रपतिको कार्यालयबाट आज जारी शोक वक्तव्यमा राष्ट्रपति डा यादवले स्वर्गीय राजनेता भट्टराई सिद्धान्त र मान्यता विपरीत कहिल्यै सम्झौता नगर्ने अपराजेय नेता रहनुभएको जनाएकाछन ।
उहाँ लोकतन्त्रका अभिभावकसमेत हुनुहुन्थ्यो भन्दै वक्तव्यमा स्वर्गीय भट्टराईको सात दशक लामो राजनीतिक जीवनमा अहिंसावादी चिन्तन र त्यागको नेपाली प्रतिमूर्ति भई जीवन बिताउनुभएको उल्लेख छ ।
उहाँको जीवनशैली स्वच्छ छवि र राष्ट्रवादी व्यवहार वर्तमान र भावी पुस्ताका निम्तिसमेत अनुकरणीय रहने राष्ट्रपति डा यादवद्वारा जारी वक्तव्यमा जनाइएको छ । वक्तव्यमा राष्ट्रपति डा यादवले स्वर्गीय भट्टराईको निधनबाट शोकाकूल नेपाली जनता र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेकाछन ।
–