रौतहट, १८ फागुन
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आज बिहान रौतहटमा तीनजना सशस्त्र प्रहरीका जवानलाई दुई घन्टा नियन्त्रणमा लिएर कुटपिटपछि छाडेको छ । भारतबाट साइकलमा चिनी लिएर नेपाल आउँदै गरेका एक व्यापारीलाई सीमा सुरक्षा बलका जवानले कुटपिट गरेपछि भएको विवादलाई मिलाउन गएका रौतहट औरैया बेसक्याम्पका सशस्त्रका सहायक हवल्दार अमृत श्रेष्ठ, प्रहरी जवान देवी थापा र नवराज खड्कालाई भारत बलुवा ग्रामका एसएसबीले नियन्त्रणमा लिई दुई घन्टा राखेर छाडेको हो ।
एसएसबीको कुटाईबाट सशस्त्र प्रहरीका जवान देवी थापाको टाउकोमा र नवराज खड्काको हातमा सामान्य चोट लागेको छ । सादा पोशाकमा रहेका एसएसबीका जवान मन्जुर आलम र सैलेश दुबेले व्यापारीलाई कुटपिट गरेपछि रौतहट बन्जाराहाका स्थानीयवासीले एसएसवीका दुवै जवानलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएका थिए । त्यसको बदलामा एसएसबीले सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएको बताइएको छ ।
नेपाल प्रहरीको जिम्मामा रहेका एसएसबीका दुवै जवानलाई छाडेपछि भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका सशस्त्र प्रहरीलाई छाडिएको थियो । घटनापछि केही समय बन्जाराहमा तनाब भएको थियो । दुवैतर्फका सुरक्षा अधिकारीबीच वार्ता भएपछि नियन्त्रणमा रहेका सशस्त्र प्रहरीहरु रिहा भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल रौतहटले जनाएको छ ।