काठमाडौँ, १८ फागुन
नेपाली काँगे्रसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा जटिलता थपिँदै गएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेको छ ।
उनको स्वास्थ्योपचारमा संलग्न चिकित्सक भरत राउतले पूर्वप्रधानमन्त्री भट्टराईको मस्तिष्कमा अक्सिजन र रक्तसञ्चारको कमीले मस्तिष्कको क्रियाकलापसमेत प्रभावित भएकाले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राख्ने तयारी भइरहेको जानकारी दिए ।
स्वास्थ्यमा असर देखिएपछि १९ दिनअघि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका पूर्वप्रधानमन्त्री भट्टराईलाई १४ दिनदेखि आइसियूमा राखेर उपचार गरिँदै आएको छ ।
नाकको माध्यमबाट पेटमा हालिएको पाइपद्वारा खाना खुवाइरहेको तथा मुटुको चाल र रक्तचाप सामान्य भएको जानकारी दिँदै चिकित्सक राउतले भने ‘पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा देखिएका थुपै्र जटिलताको उपचार सुरु गर्नुपर्ने भएको छ ।’
‘यो अवस्था र उमेरका व्यक्ति भेन्टिलेटरमा राखिएपछि पुरानो स्वास्थ्य स्थितिमा फर्कने उदाहरण ज्यादै कम छ,’ चिकित्सक राउतले भन्नुभयो– ‘मुटु, मिर्गौला र फोक्सोको सक्रियतामा असामान्य अवस्था सिर्जना भएको देखिएको छ ।’
चिकित्सक राउतले ८७ वर्षीय पूर्वप्रधानमन्त्री भट्टराईको ब्लड ग्यासको स्तरमा सुधार नदेखिएकाले कृत्रिम श्वासप्रश्वास मेसिन (भेन्टिलेटर) मा राख्नुपर्ने आवश्यक देखिएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईलाई सामान्यरूपमा अक्सिजन दिँदा नपुगेपछि अहिले २४सँै घन्टा अक्सिजनको स्तर मिलाउने गरी उपचार थालिएको छ ।