काठमाडाँ १६ फागुन
नेकपा (एमाले)का अध्यक्ष र एनेकपा (माओवादी)का अध्यक्षबीच प्रधानमन्त्री चयनका बेला भएको सातबुँदे सहमतिका कारण सरकार गठनमा भएको ढिलाइप्रति नेताहरुबीच आरोप प्रत्यारोप चल्न थालेको छ ।
एमाओवादीले सातबुँदे सहमति अक्षर पालन गर्नुपर्ने अन्यथा सहकार्य सङ्कटमा पर्ने बताएका छन् भने एमालेका नेताले माओवादी सरकारमा नआए धेरै दिन कुरेर नबस्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा माओवादी स्थायी समिति सदस्य नेता टोपबहादुर रायमाझीले सातबुँदे सहमति कार्यान्वयन हुनुपर्ने अन्यथा सहकार्य सङ्कटमा पर्न सक्ने बताउँदै माओवादी धेरै दिन पर्खेर नबस्ने बरु जस्तोसुकै अप्रिय निर्णय लिन पनि पछि नपर्ने धारणा व्यक्त गरे ।
“माओवादी एमालेको तजवीजमा चल्दैन, सहमति कार्यान्वयन नभए पेन्डुलमको अवस्थामा माओवादी बस्दैन, कि त सरकारमा जान्छ कि त प्रतिपक्षमा बस्छ, पार्टी केही दिनमै निर्णयमा पुग्छ,” नेता रायमाझीले भने ।
एमालेका नेता कृष्णगोपाल श्रेष्ठले एमाले अध्यक्ष झलनाथ खनाललाई फसाएर माओवादीले सातबुँदे किर्ते तमसुक गरेको आरोप लगाउँदै सो तमसुकको म्याद सकियो अब माओवादीको कारणले एमाले चुप लागेर नबस्ने वरु सरकारलाई पूर्णता दिन तिर लाग्ने बताए ।
“सातबुँदे सहमतिबारे पार्टीलाई जानकारी थिएन, यो संविधान र शान्ति प्रक्रियालाई सहज रुपमा निकास नदिनको लागि आएको हो,” नेता श्रेष्ठले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले शान्ति सम्झौता र संविधान लेखन अनि बहुलवाद सबैको साझा विषय भएकाले कसैले एकलोटी ढङ्गले सम्झौता गर्दैमा त्यो स्वीकार्य हुन सक्दैन भन्दै सरकार निर्माण नै गोप्य सम्झौताको गलत आधारमा भएकाले सरकारले आफ्नो असफलता आफँै निम्ताएको बताए ।
“प्रधानमन्त्रीको उपलब्धिलाई सर्वोच्च उपलब्धि मान्दा सातबुँदे सहमति प्रकरणमा एमाले अध्यक्ष खनाल बढी र एमाले पार्टी पनि दोषी छ, यो सरकार टिक्ने सम्भावना पनि कम देखिन्छ,” नेता महतले भने ।
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहालबीच भएको सातबुँदे सहमतिले ती दुईनेताबीच धु्रवीकरण भएन भने अहिलेको सरकार निर्माणको प्रक्रियाले वामपन्थी ध्रुवीकरण हुन नसक्ने धारणा राख्दै प्रधानमन्त्री चयनमा माओवादी अध्यक्ष दाहालले गर्नुभएको त्याग अहिले आएर देखाउँदा खसी खादा फर्सीजस्तो भएको बताए ।