काठमाडौँ, १२ फागुन
काठमाडौँको जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ ।
धरानका राजु शाक्य, झापाकी लक्ष्मी खड्का र आशालाल मिचेले ती युवतीहरुलाई जोरपाटीको एक घरमा राखेर कसैसँग सम्पर्क गर्न नदिई बन्धक बनाएको छ भन्ने युवा सङ्घ नेपालको विशेष सुराकीको आधारमा सो ब्युरोले कारबाही अघि बढाएको हो ।
बाँके, झापा, इलाम र पाँचथरबाट ल्याइएका ती युवतीलाई दलालले अरुले जानकारी नपाओस् भन्ने उद्देश्यले बन्धक बनाएर राखेको बुझिएको छ । ती युवतीहरुको राहदानी र मोबाइलसमेत खोसेर दलालले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
ती युवतीलाई कुबेतमा बिना टिकट रोजगारीका लागि पठाइने आश्वासन दलालले दिएकाले रोजगारीको प्रलोभनमा ती युवतीहरु काठमाडौँ आउन राजी भएको बुझिएको छ । चारदिनको अनुसन्धानपछि नियन्त्रणमा लिन सफल भएको सो ब्युरोले थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धमा लाने तयारी गरेको छ । प्रहरीका अनुसार ती दलाललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाउने तयारी भइरहेको छ ।