काठमाडौँ, ११ फागुन
एकीकृत नेकपा (माओवादी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालबीच भएको सातबुँदे सहमतिबारे स्पष्ट धारणा सार्वजनिक गर्न नेकपा (एमाले)सँग आग्रह गरेको छ ।
दुई पार्टी अध्यक्षबीच गत माघ २० गते भएको सातबुँदे सहमतिबारे हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले गरेको निर्णय अस्पष्ट भएकाले त्यसलाई अझै स्पष्ट पार्न एमाओवादीले एमालेसमक्ष आग्रह गरेको हो ।
आज बिहान सिंहदरबारमा भएको दुईदलबीचको छलफलमा एनेकपा (माओवादी)ले हिजो सम्पन्न एमाले केन्द्रीय समितिको बैठकले गरेको निर्णय अझै अस्पष्ट भएकाले थप स्पष्ट पार्न आग्रह गरेको थियो ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीको केन्द्रीय समिति बैठकले सातबुँदे सहमतिबारे गरेको निर्णयका बारेमा जानकारी गराएका थिए । छलफलपछि एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले गरेको निर्णयका बारेमा थप धारणा बनाउन भोलि बिहीबार पार्टीको स्थायी समिति बैठक बसेर आधिकारिकता सार्वजनिक गर्ने जानकारी दिए ।
छलफलमा एनेकपा (माओवादी)का अध्यक्ष दाहाल, उपाध्यक्षत्रय डा बाबुराम भट्टराई, मोहन वैद्य र श्रेष्ठ थिए । त्यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री खनाल, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल सहभागी थिए ।