परासी, १० फागुन
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एमाले र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमति मधेसी मोर्चालाई मान्य नहुने बताएको छ ।
रिपोर्टर्स क्लब नवलपरासीले आज परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका गच्छदारले माओवादी र एमालेबीचको सातबुँदे सहमतिकै कारण शान्ति र संविधान निर्माणप्रक्रियाले गति लिन नसकेको जिकिर गरे ।
दुई पार्टीले अँध्यारो कोठामा गरेको गोप्य सहमतिकोे दुई पार्टीले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । आलोपालो गरी प्रधानमन्त्री बन्ने र लडाकूका लागि छुट्टै फोर्स बनाउने भन्ने सहमति आफ्नो पार्टी, मोर्चा र मधेसी दलहरूलाई मान्य नहुने नेता गच्छदारले बताए । ठूला तीनदल सत्ताको लुछाचुँडी र प्रधानमन्त्री बन्ने खेलमा लागेकै कारण मुलुक अनिश्चितताको बन्दी बनेको उनको आरोप थियो ।