काठमाडौँ, ९ फागुन
मित्रपार्कमा पानी बोकेको ट्याङ्करले आज बिहान ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएपछि सो क्षेत्रमा अहिले तनाव सिर्जना भएको छ ।
ठक्कर दिने ट्याङ्करका चालकलाई कडा कारबाही हुनुपर्ने माग राख्दै पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीहरुले चक्काजाम गरेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिन खोजेपछि अहिले सो क्षेत्र तनावपूर्ण बनेको छ ।
प्रहरी र विद्यार्थीबीचको भिडन्तका क्रममा १२ प्रहरीसहित दर्जनौ विद्यार्थी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सो क्षेत्रमा दर्जनौ अश्रुग्यास प्रहार गरेको छ ।
पशुपति क्याम्पस अगाडि आज बिहान बा २ ख ६९४१ नम्बरको पानी बोकेको ट्याङ्करको ठक्करबाट धुम्बाराहीकी १७ वर्षीया तेजकुमारी सुवेदी र गौरीघाटका २९ वर्षीय धनबहादुर खड्का गम्भीर घाइते भएका थिए ।
हाल उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले ठक्कर दिएको ट्याङ्करमा तोडफोड र आगजनीको प्रयास गरेपछि प्रहरीले स्थिति सामान्य पार्न नियन्त्रणमा लिन खोज्दा दोहोरो भिडन्त भएको थियो ।
सो क्षेत्रमा अहिले पनि आवागमन प्रभावित भएको गौशाला ट्राफिकले जनाएको छ ।