काठमाडौँ, ६ फागुन
प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालयको अडान त्याग्न एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकाछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री खनालले आफ्नो पार्टीको स्थायी समितिको हिजो बसेको बैठकले मन्त्रिपरिषद्सम्बन्धी गरेको निर्णयबारे जानकारी गराउँदै गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री मातहत राखेर मन्त्रिपरिषद् विस्तारका लागि अध्यक्ष दाहालसँग आग्रह गरेका हुन ।
भेटमा एमाओवादी अध्यक्ष दाहालले सातबुँदे सहमति कार्यान्वयन नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने जानकारी प्रधानमन्त्री खनाललाई गराउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
उनले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताउँदै अन्य दललाई विश्वासमा लिएर मन्त्रिपरिषद् विस्तार गर्न सुझाएको पनि स्रोतले जानकारी दिएको छ ।
सातबुँदे सहमति कार्यान्वयन नगर्न र सुरक्षालगायतका प्रभावशाली मन्त्रालय एनेकपा (माओवादी)लाई दिन नहुने भन्दै एमाले पार्टीभित्रबाट चर्को दबाब आइरहेकाले मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भइरहेको छ ।
मन्त्रिपरिषद्मा सहभागी हुने वा नहुने भन्ने विषयमा हिजो बसेको एनेकपा (माओवादी) स्थायी समितिको बैठकले सातबुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो ।
हिजै बसेको एमाले स्थायी समिति बैठकले पनि मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्रीकै संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ ।