मङ्गलवारे (इलाम), ५ फागुन
गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू भारतबाट विस्थापित भई नेपालतर्फ प्रवेश गर्न थालेका छन् ।
भारतीय सुरक्षाकर्मीले नेपालीभाषीहरूको घरघरमा गएर खानतलासी र कुटपिट गर्न थालेपछि दार्जिलिङलगायतका क्षेत्रबाट सर्वसाधारण विस्थापित हुन थालेका हुन् ।
गोर्खाल्यान्ड आन्दोलनका कारण नेपाली मूलका मानिसहरू सुरक्षा खोज्दै इलामको पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, श्रीअन्तुलगायतका गाउँहरूमा आउन थालेको स्थानीयवासीले बताएका छन् ।
उनीहरू सुरक्षाका लागि सिलगुढीतर्फ जान थालेको बताइएको छ । गोर्खाल्यान्डको माग राख्दै लामो समयदेखि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन चर्काउँदै लगेपछि सो क्षेत्र पछिल्लो समयमा हिंसामा परिणत हँुदै गएको छ ।
त्यस क्षेत्रमा हिंसा भड्किननदिन बङ्गाल सरकारको निर्देशनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालित छन् । लगातारको बन्द तथा आन्दोलनका कारण दार्जिलिङ क्षेत्रमा भोकमरी सुरु हुन थालेको छ ।
आन्दोलनका कारण इलामका सीमावर्ती गाउँ विकास समितिहरू समेत प्रभावित बन्दै गएका छन् । सीमा क्षेत्रमा रहेका व्यपारिक केन्द्र पशुपतिनगरको व्यापार–व्यवसाय घट्न थालेको पशुपतिनगर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
अनुकूल अवस्थामा दैनिक दर्जनौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने सो बजार अहिले सुनसान बनेको छ । व्यापार घटेपछि व्यपारीहरू समेत विस्थापित हुन थालेका छन् ।