काठमाडौँ, ३ फागुन
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त विज्ञप्ति जारी गरी आफूहरूले प्रधानमन्त्री निर्वाचनका क्रममा गरेको सातबुँदे सहमतिको मूलमर्म र भावनाप्रति पुनः प्रतिबद्धता जनाएकाछन ।
दुई पार्टीका अध्यक्षबीच गत फागुन २० गते भएको सातबुँदे सहमतिबारे एमालेभित्रै विवाद भएपछि उक्त सहमतिबारे स्पष्ट पार्न आज विज्ञप्ति जारी भएको हो ।
विद्यमान गतिरोधको अन्त्य गरी शान्तिस्थापना र संविधान निर्माणको ऐतिहासिक कार्यभारलाई सफलतापूर्वक सम्पन्न गर्न उक्त सहमति भएको भन्दै विज्ञप्तिमा विस्तृत शान्ति सम्झौताअनुसार राजनीतिक सहमतिका आधारमा विशेष सहमतिबाट शान्ति प्रक्रियालाई पूर्णता दिने उल्लेख छ ।
उनीहरूले यी कार्यभार पूरा गर्न सबै पार्टीबीच राष्ट्रिय सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै भनिएको छ, ‘हामी सबै राजनीतिक दललाई कुनै आशङ्का वा भ्रममा नपरी गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र सामाजिक न्यायलगायत हालसम्म प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नका लागि यो प्रक्रियामा अघि बढ्न आह्वान गर्दछौँ ।’
विज्ञप्तिमा वर्तमान सरकारमा सामेल हुन सबै दललाई आग्रह पनि गरिएको छ ।