काठमाडौं, माघ २८
माओवादी सचिव सीपी गजुरेलले सरकार निर्माण हुनु अघि भएको सात बुँदे सहमतिको अक्षरशः कार्यान्वयनको सुनिश्चितता र गृहमन्त्रालय नपाएसम्म आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले एमाले र माओवादीवीच २६ बटा मन्त्रालय मध्ये समानुपातिक प्रतिनिधित्वको आधारमा गृहमन्त्रालय सहित १५ बटा मन्त्रालय माओवादीले पाउने सहमति भएको पनि खुलासा गरे । सात बुँदे सहमतिको आधारमै अहिलेको सरकार गठन भएकोले त्यस्को शब्द र भावना अनुसार अक्षरंश कार्यान्वयन नभए सहमतिको आधार समाप्त हुन्छ । त्यसपछि सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा हामि बसेर भावी रणनीति तय गर्छौ ।
उनले सहमति विपरीत एमालेको स्थायी समितिको बैठकले गृहमन्त्री पार्टीको तर्फबाट तय गरेपछि गम्भीर आशंका उत्पन्न भएको भन्दै एमालेले उत्पन्न गरेको समस्या एमालेनै समाधान गर्नुपर्ने बताए । यद्यपि उनले आफ्नो पार्टीको समर्थनमा बनेको सरकारलाई तुरुन्तै ढाल्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे ।
उनले सात बुँदे सहमतिमा भएको सेना समायोजन, आलो पालो प्रणाली र संयन्त्र बनाउने विषय माओवादीको केन्द्रीय कमिटिबाट पारित नभएको भन्दै एमालेले आशंका गरेको समेत बताए ।