काठमाडौँ, २७ माघ
दुई पटकको स्थगनपछि बोलाइएको व्यवस्थापिका–संसदको बैठक आज प्रारम्भ भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि गत सोमबार र बुधबारका लागि व्यवस्थापिका संसदको बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री नियुक्त भए पनि नेकपा (एमाले) र एनेकपा (माओवदी)बीच मन्त्रालयको बाँडफाँडमा सहमति नहुँदा मन्त्रिमण्डल विस्तार हुन नसकेको र संसदमा सरकारको प्रतिनिधित्व नभएकाले ती बैठकसमेत प्रभावित हुन पुगेका थिए ।
बैठकमा नवनियुक्त उपप्रधानमन्त्री भरतमोहन अधिकारीका तर्फबाट मन्त्री विष्णु पौडेलले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत (अठारौँ संशोधन) अध्यादेशहरू पेस गरे ।
यसअघि सभामुख सुवास नेम्बाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्य विभाजनसम्बन्धी पत्रहरू पढेर सुनाएका थिए । व्यवस्थापिका संसदको अर्को बैठक यही माघ २९ गते शनिबार दिनको ३ बजे बस्नेछ ।