काठमाडौँ, २३ माघ
नेकपा (एमाले) स्थायी समितिको आज बिहान बसेको बैठकले पार्टीका तर्फबाट तीनजना नेतालाई सरकार पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले उपप्रधानमन्त्रीमा स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीलाई सिफारिस गरेको छ ।
यसैगरी सचिव विष्णु पौडेल र पोलिटव्युरो सदस्य गङ्गाधर तुलाधरलाई पनि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरी सिफारिस गरिएको नेकपा (एमाले)ले जनाएको छ । वर्तमान समयमा शान्ति र संविधान मुलुकको प्रमुख कार्यभार भएकाले उक्त कार्यभार पूरा गर्न सरकारको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति अनिवार्य भएकाले विभिन्न राजनीतिक पार्टीहरूलाई सरकारमा सामेल हुन बैठकले आह्वान समेत गरेको छ । त्यसको लागि सबै पार्टीहरूसँग वार्ता प्रक्रियालाई अघि बढाउने निर्णयसमेत गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।