समाजकल्याणमन्त्री ओझाप्रति खेद प्रस्ताव पारित

Read Time:2 Minute, 39 Second

काठमाडौँ, २० माघ

व्यवस्थापिका–संसद महिला, बालबालिका तथा समाजकल्याण समितिले संसदीय मूल्य र मान्यताविपरीत कार्य गरेको भन्दै महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सर्वदेव ओझाप्रति खेद प्रस्ताव पारित गरेको छ ।

समितिको आज सिंहरदरवारस्थित कार्यालयमा बसेको बैठकले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ (६) अनुसार प्रधानमन्त्री तथा अन्य मन्त्रीहरु व्यवस्थापिका–संसदप्रति सामूहिरुपमा उत्तरदायी हुने र आफ्ना मन्त्रालयमातहतका कामका बारेमा जानकारी दिनुपर्ने व्यवस्थाप्रति गैर जिम्मेवारपन देखाएकोले खेद प्रस्ताव पारित गरेको जनाइएको छ  ।

समितिले दिएका निर्देशनहरुको अवज्ञा गर्नु, समितिद्वारा गठित कार्यदलमा उपस्थित नहुनु, माग गरिएका कागजात उपलब्ध नगराउनु भएकाले मन्त्री ओझाप्रति खेद प्रस्ताव पारित गरिएको बैठकपछि समितिकी सभापति सन्ध्यादेवीले जानकारी दिए ।

समितिले महिला, बालबालिका तथा समाजकल्याण मन्त्री र समाज कल्याण परिषद्का पदाधिकारीबीच देखिएका विवादहरुका बारेमा समितिले २०६७ बैशाख २८ गते दिएको निर्देशन कार्यान्वयनको सम्बन्धमा छलफल कार्यक्रममा उपस्थितिका लागि पटकपटक पत्र पठाउँदा पनि मन्त्री ओझा उपस्थित नभएको बताइन्छ ।

आजको बैठकमा समितिका सदस्यहरु कविता सरदार बाँतर, गोविन्द नेपाली, हर्षजीत लामा, विनोद पहाडीलगायतले मन्त्री ओझा समितिमा अनुपस्थित हुनुको कारणसहित स्पष्टीकरण माग्नुपर्नेमा जोड दिएका थिए ।

समितिले मुलुकका रौतहट, महोत्तरी, पर्सा, कैलालीलगायतका जिल्लामा भएका महिला हिंसासम्बन्धी घटनाबारे सत्यतथ्य बुझ्नका लागि गृहसचिव गोविन्द कुसुम र प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई २०६७ माघ २४ गते बस्ने बैठकमा उपस्थित हुन भनेको छ । समितिको अर्को बैठक यही माघ २४ गते बस्ने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %