इटहरी, १८ माघ
सुनसरीको हाँसपोसा गाविस–८ स्थित सुकुमारी खोला किनारमा अनधिकृत रुपमा अर्काको जमिन अतिक्रमण गरी निर्माण गरिएका १३० घरटहरा आज बिहान आगजनी गरी हटाइएको छ ।
एक महिनाअघि पनि प्रहरीले सो स्थानमा अनधिकृत रुपमा बनाइएका सुकुम्बासीका घर टहरा भत्काएको थियो । प्रहरीले सो स्थानमा घरटहरा नबनाउन आग्रह गरे पनि पुनः सुकुम्बासीहरुले घरटहरा ठड्याएकाले आज पनि प्रहरीले बल प्रयोग गरी ती घरटहरामा आगजनी गरिदिएको हो ।
घर टहरा हटाउने क्रममा सुकुम्बासीहरु उत्तेजित भएपछि छजनालाई प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । पक्राउ पर्नेहरुमा सन्दीप राई, सञ्जय तामाङ, सुनिता राई, मेनुका राई, आशकुमार राई र प्रभात राई रहेका छन् ।
सुनसरी जिल्लाको विभिन्न स्थानमा सुकुम्बासीहरुले व्यक्तिगत तथा सार्वजनिक जमिन ओगटेर घर टहरा बनाउने कार्य गरिरहेका छन् । पटकपटक प्रहरीले त्यस्तो वस्ती हटाउने कार्य गरे पनि पुनः ती ठाउँमा घरटहरा बनाउनाले सुकुम्बासी समस्या चर्किने सम्भावना बढेर गएको छ ।
सुकुम्बासीले बनाएका घरटहरा हटाउन जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिका बैठकले त्यस्ता ठाउँमा बनाइएका घरटहरा हटाउने निर्णय भएकाले प्रहरीले सुकुम्वासीले बनाएका घरटहरा हटाउने कार्यलाई तिव्रता दिंदै आएका छ ।