झापा , १७ माघ
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गा–२ स्थित जुकेकल्भर्टमा भारतीय ट्रकको ठक्करबाट दुईजनाको मृत्युभएको छ । डव्ल्यु वि ७१–ए ०४४१ नम्बरको मालबाहक भारतीय ट्रकको ठक्करबाट गम्भीर घाइते भएका झापा सतासीधाम–१ का १८ वर्षीय विनोद शेर्मा र सोही स्थानका ३० वर्षीय राजकुमार शेर्माको उपचारका क्रममा मृत्युभएको हो ।
पश्चिमतर्फ जाँदै गरेको सो भारतीय सवारी साधनले हिजो बिहान ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको मे २ प ८६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार शेर्माद्वयलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
मोटरसाइकल चालक विनोदको हिजो र अर्का घाइते राजकुमारको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई प्रहरी चौकी सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।