विराटनगर, १५ माघ
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले शान्ति र संविधान निर्माण कार्य आफ्नै पार्टीबाट मात्र सम्भव भएकोले एमाओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेकाछन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमाओवादी अध्यक्ष दाहालले अन्य पार्टीको नेतृत्वमा सरकार बनेमा उक्त दुवै कुरा पूरा नहुने धारणा व्यक्त गरे ।
सहमतिको सरकारको विकल्प नभएको र त्यसको लागि आगामी माघ १९ गते बिहानसम्म राजनीतिक दलहरू गम्भीरताका साथ प्रयासरत् रहने उनले वताए ।
एक जिज्ञासामा पूर्व प्रधानमन्त्री समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले माओवादी लडाकू सरकारको मातहतमा जानु भनेको एतिहासिक एवम् महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै लडाकूहरुको ‘चेन अफ कमाण्ड’बारे छलफल जारी रहेको उल्लेख गरे ।