पोखरा, १४ माघ
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले आज पोखरामा २०६६ सालको एसएलसी सर्वोत्कृष्ठ अंक सहित उतिर्ण भएका चार जना तमु विद्यार्थीलाई पुरस्कृत र तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई अभिनन्दन गरको छ । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठानद्धारा आयोजित दशौं विद्यार्थी सम्मान एवं अभिनन्दन कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट भद्रकाली उच्च मावि पोखराबाट ८७ दशमलव ६३ प्रतिशत अंक प्राप्त गरेकी शान्ती तमु, शिवपुरी उच्चमावि महाराजगञ्ज काठमाण्डौंबाट ८३ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेका विवेक तमु र निजी विद्यालय तर्फ दी एक्सेलसियर आवाशीय मावि कमलादी काठमाण्डौंबाट ९० दशमलव ३७ प्रतिशत प्राप्त गरेकी छिरीङ्ग डोल्मा तमु र ग्राण्डी इंग्लिस बोर्डिङ स्कुल चितवनबाट ८९ दशमलव ८७ अर्जुन गुरुङलाई नगद दश हजार, मेडल र सम्मानपत्रबाट कार्यक्रमका प्रमुख अतिथी शिक्षाविद गणेशबहादुर तमुले पुरस्कृत गरे ।
कार्यक्रममा विगत तीनदशकदेखि तमु समुदायको एकता, अधिकार र विकासका लागि तमु धिं नेपालको अध्यक्ष भई समाजसेवा गरिरहेकी तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई स्वर्गीय पार्वता तमु स्मृति पुरस्कारद्धारा सम्मान गरिएको हो । प्रतिष्ठानका उपाध्यक्ष गिरीप्रसाद तमुले स्वर्गीय आमाको नाममा स्थापित अक्षयकोषबाट तमुलाई नगद दशहजार रुपैया, सम्मानपत्र र दोसल्लाबाट सम्मान गरे ।
सम्मानित तमुले आफुले प्राप्त गरेको दशहजारमा नब्बे हजार रुपैया थप गरी गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि एक लाख रुपैयाको अध्यक्ष तमु धिं नेपाल अक्षयकोष स्थापनाका लागि प्रतिष्ठानका अध्यक्ष झम तमुलाई रकम हस्तान्तरण गरे । उहाँले तमु धिं स्थापना बेला बैठक बस्दा पनि तारेख धाउनु परेपनि समुदायको अधिकारका लागि निरन्तर जुटेको बताए । पुरस्कृत भएपछि मन्तव्य व्यक्त गर्नुहुदै शान्ति तमुले सम्मानले समाज र देशको प्रतिष्ठा उचो राख्ने प्रतिवद्धता जनएा भने अर्का पुरस्कृत छिरिङ डोल्मा तमुले तमु समाज र राष्ट्रका लागि दायित्वबोध गराएको बताए ।
कार्यक्रममा प्रतिष्ठानलाई स्थापना कालदेखि अतुलनिय योगदान पु¥याएको भन्दै प्राध्यापक डाक्टर गणेशमान तमु, प्राध्यापक डाक्टर विरेन्द्र सिंह तमु र पत्रकार हुमबहादुर तमुलाई मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ विद्यार्थी उत्पादन गर्ने विद्यालयलाई सम्मान र नयाँ आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।
तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष झम तमुको अध्यक्षतामा र शिक्षाविद गणेशबहादुर तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका युके संयोजक मिनप्रसाद तमु, दी एक्सेलसियर आवाशीय माविका शिक्षक नारायण खतिवडा, प्रतिष्ठानका श्रीजङ्ग तमु, चित्रबहादुर तमु, चिजकाजी तमु लगायतले मन्तव्य व्यक्त गरेकाथिए भने हिमाली साँस्कृतिक परिवारले साँस्कृतिक प्रस्तुति गरेको थियो ।
प्रतिष्ठानले दशौ कार्यक्रम सम्ममा एसएलसीमा सर्वोत्कृष्ठ अंक प्राप्त गरेका ३९ जनालाई पुरस्कृत गरिसकेको छ भने नौ वटा अक्षयकोष स्थापना गरि ग्रामिण भेकका सामुदायिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययरत वार्षिक २० जना तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कला, सँस्कृति, भाषा, समासेवा लगायतमा विशेष योगदान गरेका तमु श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।
हुम तमु