नुवाकोट, १४ माघ
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बहुमतीय भन्दा सहमतीय सरकारको निर्माणमा राजनीतिक दलहरूले प्रयास जारी राखेको बताएकाछन ।
आज नुवाकोटको सदरमुकाम विदुरमा पत्रकारहरूसंग कुराकानी गर्दै खनालले उक्त भनाई राख्नुभएको हो । राष्ट्रपतिले सहमतिको लागि राजनीतिक दलहरूलाई दिनुभएको समय गुज्रिसकेको भएता पनि दलहरू सहमतिको खोजीमा रहेको उनको भनाई थियो ।
संविधान बनाउन दलहरूको सहमति आवश्यक रहेकाले सरकार निर्माणका लागि पनि सहमतिकै बाटो अपनाउने निर्णय ठूला दलहरूले गरेको अध्यक्ष खनालले बताए ।
नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गर्ने सम्भावना बढेर गएको समेत उनको दावी थियो । उनले भने– ‘माओवादीको नेतृत्व पनि स्वीकार गर्न सकिन्छ, तर उनीहरूबाट प्रतिवद्धता आउनु आवश्यक छ ।’
अध्यक्ष खनाल आज नेकपा एमाले नुवाकोटको पाँचौ जिल्ला अधिवेशन उद्घाटनका लागि नुवाकोट पुगेका थिए ।