काठमाडौँ, १३ माघ
राष्ट्रिय सहमतीय सरकार गठनको म्याद गुजारेर बहुमतीय प्रक्रियामा सहमति जुटाउन बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सहमतिमा नपुगी सकिएको छ ।
आज बिहानदेखि राजधानीको होटल ¥याडिसनमा बसेको सो बैठकमा सेना समायोजन र त्यसको ढाँचाका बारेमा सहमतिमा पुग्न नसकेपछि बैठक कुनै निर्णय बिना नै सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँगे्रसका नेता डा रामशरण महतले वार्ताको प्रक्रिया जारी रहेको र दलहरुबीच सहमति कायम गर्न अझै छलफल गर्नुपर्ने भएकाले सहमति जुट्न नसकेको बताए ।
उनले शान्ति प्रक्रिया र संविधानको बिषयमा स्पष्ट र विश्वासिलो अवधारणा पेश गर्नसकेमा एमाओवादीको नेतृत्वको सरकार पनि स्वीकार्य हुने धारणा व्यक्त गर्दै बैठक सकारात्मकरुपमा अगाडि बढिरहेको जानकारी दिए ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेतृत्व लिनका लागि एमाओवादी वा जोसुकै होस्, उसले शान्ति प्रक्रिया र संविधानसँग गाँसिएका कुराहरुलाई सम्बोधन गर्न सक्नुपर्छ भने।
शान्ति बहाली र संविधानको बिषयमा थप योजनाकासाथ पर्सी अर्को बैठक बस्ने जानकारी पनि उनले दिए ।
एमाओवादीका नेता वर्षमान पुनले बैठकमा आप्mनो पार्टीलाई आगामी सरकारको नेतृत्व दिन आग्रह गरिएको जानकारी दिँदै शान्ति र संविधान सुनिश्चित गर्न काँगे्रस र एमालेले धारणा राखेको बताए ।
उनले बैठकमा सहमति जुटाउन दुईपक्षीय र त्रिपक्षीय वार्ता भएको र छलफल सबै विषयमा सकारात्मक भएकाले चाँडै निकास निस्कने आशा व्यक्त गरे ।
यसअघि बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिका लागि दलहरूबीच वार्ता जारी रहेकाले सहमति निस्कने विश्वास व्यक्त गदै दलहरुबीच सहमतिको विकल्प नभएको स्पष्ट पारेका थिए ।
एमालेसहितको त्रिपक्षीय बैठक सकिए पनि एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीचको द्विपक्षीय वार्ता भने सोही स्थानमा जारी छ ।