काठमाडौं, ११ माघ
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन । सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मीनेन्द्र रिजालसँग सोमवार राष्ट्रसङ्घीय प्रधानकार्यालयमा भएको भेटमा महासचिव बानले लुम्बिनी क्षेत्रको संरक्षण नेपालका निम्ति मात्र नभइ विश्वका अन्य मुलुकका निम्ति पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)मार्फत लुम्बिनी क्षेत्रको विकासलाई अघि बढाउँदा त्यसले अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण हुने उल्लेख गर्दै महासचिव बानले लुम्बिनी, रामग्राम र तिलौराकोटको विकास पनि जरुरी भएको विचार व्यक्त गरे ।
त्यसअवसरमा जारी शान्तिप्रक्रिया, संविधानलेखन, अनिमिनको बहिर्गमनपछिको अवस्था र सहमतिको सरकार गठनका निम्ति भएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान भएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।