प्रधानमन्त्रीका लागि दाबी नगर्न माओवादीलाई काँग्रेस र एमालेको आग्रह

Read Time:4 Minute, 15 Second

काठमाडौँ, ११ माघ

नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको आज बिहान बसेको बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी नगर्न ऐनकपा (माओवादी)लाई आग्रह गर्ने निर्णय गरेको छ ।

माओवादी सेनाका लडाकू, शिविर र हतियार सेना समायोजन विशेष समिति मातहतमा आएपछि माओवादीको नेतृत्वमा अन्य दल सामेल हुनसक्ने परिस्थिति विकसित हुँदै गएको भए पनि माओवादी सेनाको समायोजन, पुनःस्थापन र  बिदाइसम्बन्धी दलहरूबीच स्पष्ट खाका नबनेसम्म उसको नेतृत्वमा सरकार गठन हुँदा अप्ठ्यारो हुने काँग्रेस र एमालेको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति प्रमुख दलहरूबीच थप प्रयास गर्ने सहमति भएको जानकारी दिए ।

सोही पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले तीन दलको हिजोको बैठकको निर्णयानुसार नेपाली काँगेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठनका सन्दर्भमा छलफल भएको र छलफललाई थप तीव्रता दिने सहमति भएको बताए ।

उनले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्दा शान्ति प्रक्रिया, संविधान लेखन र राजनीतिक निकासका लागि सहज हुने भएकाले काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने आफ्नो पार्टीको अडान बैठकमा दोहो¥याएको जानकारी दिए ।

केन्द्रीय सदस्य सिटौलाले कुनै राजनीतिक दलले कसैलाई बोक्न वा छोड्ने गर्नुहुन्न भन्ने काँग्रेसको स्पष्ट अडान रहेको बताउँदै नेतृत्वका लागि चक्रिय प्रणालीमा समेत छलफल गरी स्वीकार्न सकिन्छ भने ।

नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले प्रमुख तीन राजनीतिक दलबीच राष्ट्रिय सहमतिको सरकार गठनका लागि हालसम्म भएको प्रगतिको बारे समीक्षा हुनका साथै भोलि १२ गतेको समयसीमाभित्र सहमति खोज्न आज दिनभरि नै अथक प्रयास गर्नेबारेमा छलफल भएको बताए  ।

उनले माओवादीले सरकारका नेतृत्व गर्दा शान्तिप्रक्रियामा पर्नसक्ने अप्ठ्यारोका बारेमा छलफल भएको र शान्तिप्रक्रियाको निश्चित विन्दु नपुन्जेलसम्म अन्य दलको नेतृत्व स्वीकार गर्न माओवादीलाई आग्रह गर्ने सहमति भएको छ भने ।

उनले भने— “यदि नेपाली काँग्रेसको नेतृत्व एनेकपा (माओवादी)लाई र एनेकपा माओवादीको नेतृत्व नेपाली काँग्रेसलाई स्वीकार हुन्छ भने नेकपा (एमाले)ले त्यो प्रक्रिया स्वीकार्ने र सघाउने छ, एमाले राष्ट्रिय सहमतिको सरकारका लागि बाधक बन्दैन ।”

नेता ज्ञवालीले अहिलेको सङ्क्रमणकाललाई तीन भागमा विभाजन गरी शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन्जेल एउटाले नेतृत्व गर्ने, अर्काको नेतृत्वमा संविधान जारी गर्ने र तेस्रोको नेतृत्वमा निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने गरी चक्रिय प्रणाली अनुसार नेतृत्व लिनसक्ने एमालेको प्रस्तावमा पनि छलफल भएको जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %