काठमाडौँ, ७ माघ
नेकपा एमाले, एनेकपा (माओवादी) र नेपाली काँग्रेस सहमतीय सरकार निर्माणका लागि समयसीमा बढाउन सहमत भएका छन् । तीन दलको शीर्ष नेताहरुको आज बिहान शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा बसेको बैठकले सहमतीय सरकार निर्माण गर्न राष्ट्रपतिसमक्ष समय बढाउन अनुरोध गर्ने निर्णय गरेका छन् ।
समयसीमा बढाउनका लागि २८ दलको सहमति लिएर राष्ट्रपतिसमक्ष अनुरोध गर्न तीनदल सहमत भएका हुन् । त्यसका लागि २८ दलको बैठक आजै बस्दैछ । राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार निर्माण गर्न आह्वान गर्नुभएको समय आज सकिँदैछ ।
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक संविधान निर्माण तथा शान्ति प्रक्रिया कार्यान्वयनलगायतका राष्ट्रसामु रहेका समस्या समाधान गर्न दलहरुले गम्भीरता महसुस गरी अहिलेको समयसीमा बढाउन तीनदल सहमत भएको बताए ।
“२८ दलसँग बसेर छलफल गर्ने र समय बढाउनमा तीनदल सहमत भए,” नेता पौडेलले भने । नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले अन्य दलहरुसँग परामर्श गरेर सहमतिको वातावरण बनाउन राष्ट्रपतिसँग समय माग्ने बारेमा छलफल भएको बताउँदै अझै पनि सहमतिको सरकार बन्न सक्ने अवस्था छ भने ।
बैठकमा सरकारको नेतृत्व बारेमा दलहरुबीच आ–आफ्नै दाबी प्रस्तुत भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काँग्रेसको सरकार नेतृत्वको दाबी अझै रहेको भन्दै प्याकेजमा सहमति खोज्नुपर्ने धारणा दोहो¥याए ।
नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने यसअघि नेकपा एमाले र नेपाली काँग्रेसले माओवादी हतियार र लडाकूरहित नभइन्जेल सरकारको नेतृत्व स्वीकार गर्न नसक्ने भन्दै आएकामा यो बैठकबाट ती दलहरु पनि सरकारमा माओवादीको नेतृत्वका लागि पनि खुल्ला भएको बताए ।
“शान्ति प्रक्रियाका काम अघि बढेको तथा संविधान लेखनका लागि संवैधानिक समिति सक्रिय हुँदै गएको जस्ता कतिपय सकारात्मक कामहरुका कारण एमाले र काँग्रेस सरकारको नेतृत्वका लागि सबै विकल्प खुल्ला गर्न तयार देखिए” उपाध्यक्ष श्रेष्ठले भने । बैठकमा तीनैदलका शीर्ष नेताहरुको सहभागिता थियो ।