लमजुङ, ५ माघ
लमजुङमा आगामी माघ अन्तिमसाता आदिवासी जनजाति साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ । आदिवासी जनजातिहरुको कला संस्कृति जगेर्ना तथा प्रवद्र्धन गर्नुका साथै नेपाल पर्यटन वर्ष सन् २०११ लाई सघाउ पु¥याउने उदेश्यले लमजुङमा पहिलो पटक आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।
आगामी माघ २६ देखि फागुन ३ गतेसम्म एक साता संचालन हुने महोत्सव सफल पार्न ५ सय १ सदस्यीय मूल आयोजक समिति तथा १८ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
सदरमुकाम बेसीशहरको सहजी मैदानमा हुने महोत्सवमा गुरुङ, तामाङ, नेवार, मगर, दुरा लगायत जिल्लामा रहेका ९ वटा जातजातिको कला संस्कृति प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै जनजातिहरुलाई सचेत गराउने उदेश्यले जलबायु परिवर्तन तथा रेड अवधारणा र अन्तरराष्ट्रिय श्रम संगठनको अभिसन्धी न १६९ को विषयमा चेतनामूलक कार्यक्रमहरु संचालन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक खेमजंग गुरुङले जानकारी दिएकाछन् ।
महोत्सवमा जनजाति र गैर जनजातिहरुको झाँकी प्रदर्शन गर्ने, लोकदोहोरी प्रतियोगिता, प्याराग्लाइडिङ, कृषि प्रदर्शनी, हिज्जे प्रतियोगिता, हस्तकला प्रदर्शनी, पर्यटकीय गाउँहरुको ‘प्याकेज टूरको कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति लमजुङको आयोजनामा हुन लागेको महोत्सवमा पर्यटन बोर्ड, आदिवासी जनजाति महासंघ, जिल्लाभरका गाविसहरु लगायत विभिन्न संघ संस्थाले सहयोग गर्ने अपेक्षा गरिएको छ । झण्डै ३५ लाख रुपैयाको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ ।