काठमाडौँ, ५ माघ
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार गठन हुन नसके अर्काे साताभित्र बहुमतका आधारमा सरकार बन्ने बताएकाछन ।
आफ्नो पार्टी निरन्तर राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेपनि अन्य ठूला दलले राष्ट्रपतिले आव्हान गरेअनुसारको म्याद भित्र सहमतिमा आउन तत्परता नदेखाएकाले सहमतिबाट नभए बहुमतको भएपनि नयाँ सरकार गठन हुने उनको कथन थियो ।
एमालेकै अडान र प्रस्तावका कारण एमाओवादीको विशेष अधिवेशन रोकिएको र नेपाली काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको भन्दै उनले यसबीचमा शान्ति र संविधानका लागि दलहरुबीचको संवाद उचाईमा पुगेको उल्लेख गरे ।
एमालेको स्थानीय विकास तथा भौतिक संरचना विभागद्वारा आयोजित ‘स्थानीय विकास तथा भौतिक पूर्वाधार’ विषयक छलफल कार्यक्रमको आज पार्टी कार्यालय, बल्खुमा उद्घाटन गर्दै अध्यक्ष खनालले अब बन्ने सरकारले शान्तिप्रक्रियाको पूर्णता र संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘शान्ति र संविधान बनाउने उद्देश्य नबोक्ने सरकारले देशलाई भड्खाँलोमा जानबाट बचाउन सक्दैन ।’ खनालले भने ।
अध्यक्ष खनालले एमाओवादीले भन्ने गरेजस्तो जनविद्रोह गर्ने सोच सो पार्टीको नभएको र जङ्गल वा भारत फर्कने संभावना पनि नरहेकाले ऊ शान्तिपूर्ण रुपान्तरणमा रहन बाध्य भएको दाबी गरे ।
शान्ति र संविधानविरोधी काम भएमा वा दक्षिणपन्थी–प्रतिक्रियावादी हावी भएमा एमालेले पनि विद्रोह गर्ने भन्दै उहाँले त्यस्तो अवस्थामा क्रान्तिकारीहरु हात बाँधेर बस्न नसक्ने स्पष्ट पारे ।
अध्यक्ष खनालले स्थानीय निकायको अभावका कारण विकास निर्माणमा विचल्ली छाएको र राज्यकोषको दुरुपयोग भएकाले स्थानीय निकायको निर्वाचन तथा दलीय प्रतिनिधित्व जस्ता विकल्प नयाँ सरकारले ल्याउनुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गोकर्ण विष्ट, सभासद् कृष्णप्रसाद सापकोटा, विभागका सचिव भीम के.सी.लगायतले बोलेका थिए ।
कार्यक्रममा स्थानीय निकायका क्षेत्रमा कार्यरत देशभरका एमाले कार्यकर्ताको उपस्थिति थियो ।