दोलखा, ५ माघ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको अहिले जारी निर्वाचनमा पनि संसदीय दलका नेता रामचन्द्र पौडेल नै पार्टीका तर्फबाट उम्मेदवार रहेको बताएकाछन् ।
उनले पत्रपत्रिकामा नेता शेरबहादुर देउवाका सम्बन्धमा जेजस्तो चर्चा आए पनि पार्टीले आधिकारिक निर्णय नगरेसम्म पौडेल नै प्रधानमन्त्रीको उम्मेदवारी हुने बताए । नेपाली काँग्रेस दोलखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले राष्ट्रपतिले दिएको समयसीमा आगामी शुक्रबारसम्म पनि सहमतीय सरकार नबन्ने कुराको सङ्केत गरे । नेता सिटौलाले भने –‘राष्ट्रपतिलाई आग्रह गरेर दलहरुले फेरि समय थप गरी सहमतिको सरकारकै लागि प्रयास गर्नु बुद्धिमानी हुनेछ ।’ उनले काँग्रेस राष्ट्रिय सहमतिकै सरकारको पक्षमा रहेको पनि स्पष्ट पारे ।
पार्टी सभापति सुशील कोइरालाले महामन्त्रीका रुपमा आफ्नो नाम प्रस्ताव गर्दा पार्टीभित्र कुनै समर्थन वा विरोध नभएको दाबी गर्दै उहाँले छिट्टै केन्द्रीय समितिको बैठक बसी यस विषयमा टुङ्गो लगाइने जानकारी दिए ।