काठमाडा ३ माघ
अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिया र संविधान लेखनलाई टुङ्गोमा पु¥याउन अन्तिमसम्म पहल गर्ने र यसमा अवरोध खडा भए तीनदेखि पाँच लाख युवा परिचालन गरेर विद्रोहमा जाने बताएकाछन् ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो पार्टी देशव्यापीरूपमा जनसेवामा होमिने बताए ।
सो पार्टीको विशेष केन्द्रीय ब्युरोद्वारा आज यहाँ आयोजित नेवाः, ताम्सालिङ र विशेष राज्य समितिअन्तर्गतका झण्डै पाँचहजार कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिँदै उनले भने–‘शान्तिप्रक्रियामा आएपछि हामी जनसमक्ष जान छाडेका छौं, त्यसैले अब उत्पादन, पुनःनिर्माणजस्ता अभियान लिएर गाउँदेखि राज्यसमितिसम्मका जनसमक्ष जान जरुरी छ ।’
एमाओवादीको गत पुस २१ गते सम्पन्न केन्द्रीय समिति बैठकले यही माघ ३ गतेदेखि १७ गतेसम्म देशव्यापी आन्तरिक राजनीतिक प्रशिक्षण गर्ने निर्णय गरेको थियो ।
सोही कार्यक्रमअनुसार एमाओवादीले भोलि मङ्गलबारदेखि उपत्यका बाहिरका राज्य समितिहरूमा सो प्रशिक्षण गर्नेछ ।
एमाओवादीले यही माघभरमा प्रशिक्षण सक्ने, जनयुद्ध दिवसका दिन आगामी फागुन १ गते गाउँदेखि राज्यस्तरमा शान्ति र संविधानका पक्षमा शान्तिपूर्ण जनपरिचालन गर्ने र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरे लाखौं युवा परिचालन गरेर प्रतिरोध गर्ने बताउँदै आएको छ ।
यसैबीच फरकमत राख्न नपाउने भएपछि उपाध्यक्ष डा बाबुराम भट्टराई सो प्रशिक्षणमा सहभागी नभएको एमाओवादी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उपाध्यक्ष डा भट्टराईलाई नदेखेपछि सोही पार्टीको पोलिटब्युरो सदस्य हिसिला यमीले प्रशिक्षण हलभित्र भिन्न मत राख्न दिइनुपर्ने माग गरकी थिइन ।
उनले फरक मत राख्न दिने स्थिति नदेखेपछि आफूले फरक मत राख्न माग गर्दै हलभित्रै नारा लगाएको सञ्चारकर्मीलाई जानकारी गराए ।
उपाध्यक्ष डा भट्टराईसहित आठजना केन्द्रीय सदस्यले गत पुस २१ गते सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको दस्तावेजको मूल भावना र प्रवृत्तिमाथि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
तर बहुमतले अध्यक्ष प्रचण्डकै दस्तावेज पारित गरिसकेको बताउँदै संस्थापन पक्षले त्यसलाई मात्र पार्टीको आधिकारिक दस्तावेजका रूपमा तलसम्म लैजान पाइने तर्क गरेको छ ।
यस्तै प्रशिक्षण सकिएपछि पार्टी सचिव सिपी गजुरेलले यो पार्टीभित्र देखिएको सामान्य मत भएकाले पदाधिकारी बैठकपछि यसको टुङ्गो लगाउने सञ्चारकर्मीसँग बताए ।