राजविराज ३ माघ
राष्ट्रिय जनगणना २०६८ को पूर्वतयारी भइरहेका बेला आज यहाँ आयोजित गोष्ठीका सहभागी वक्ताहरुले तथ्याङ्कमा एकरुपता ल्याउन आग्रह गरेका छन् । केन्द्रीय तथ्याङ्क विभाग र शाखा तथ्याङ्क कार्यालय सुनसरीको संयुक्त आयोजनामा भएको सो गोष्ठीका सहभागीले विभिन्न सरकारी कार्यालयबीच अन्तक्र्रिया गरी तथ्याङ्कलाई बढी विश्वसनीय र स्तरीय बनाउन संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।सहभागीहरुले तथ्याङ्कलाई प्रयोगमैत्री बनाउनुपर्ने भएकाले तथ्यहरुको निश्चितताका लागि तथ्याङ्क उत्पादकहरु तथा उत्पादक र प्रयोगकर्ताबीच बेलाबेलामा अन्तक्र्रिया भइरहनुपर्ने सुझाव दिएका थिए ।
सही तथ्याङ्कले जनसाङ्ख्यिक, आर्थिक, सामाजिक पक्षका विवरणहरु प्रदान गर्ने र विकासको योजना तर्जुमा गर्न, प्रशासनिक प्रणालीको विभाजनको आधार तय गर्न, मानव–लैंगिक विकास सूचकाङ्कलगायत आर्थिक–सामाजिक सूचकाङ्क निकाल्न ठूलो महत्व राख्दछ ।केन्द्रीय तथ्याङ्क विभागका अधिकृतहरु डा जिष्णुमोहन भट्टराई, बद्रीकुमार कार्की र शाखा तथ्याङ्क कार्यालय सुनसरीका अधिकृत बोधप्रसाद आचार्यले गोष्ठीमा बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय जनगणना २०६८ नेपालको जनगणना शृङ्खलामा एघारौं हुनुका साथै एकसय वर्षपछिको जनगणना र गणतन्त्र नेपालको पहिलो जनगणना पनि हो ।नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो । अबको जनगणनामा करिब ६० लाख परिवारबाट पारिवारिक तथा व्यक्तिगत विवरणहरु सङ्कलन गरिने योजना रहेको छ ।निश्चित तोकिएको जेठ २८ गतेदेखि असार ७ गतेसम्म जनगणना गरी सो अवधिभित्र जन्म–मृत्युको थपघट अन्तिम दिनमा मिलान गरी २०६८ असार ८ गते जनगणना दिवस मनाइनेछ ।