पोखरा बजारमा अहिले बन तरुल, घर तरुल, सरखण्ड, पिंडालुको बजार निकै छ । बजारमा जता पनि तरुल पाइन्छ । माघ आउन चार-पाँच दिन बाँकी अगाडि देखि नै सबै तरुल किन्नकै हतार गरिरहेका भेटिन्छन् । मगर र थारुहरुको पर्व माघ १ नजिकिदै जाँदाको हतारो हो यो । पोखराका बासिन्दा बिशेष गरि मगरको । मगरहरुको बिशेष पर्वको उपलक्ष्यमा नजिकैका गाउँहरुबाट तरुल धमाधम पोखरा बजार ल्याईरहेका छन् साना व्यापारीहरु । र, बजारमा महंगो भए पनि यस्तो चटारो छ ।
तनहुँ घर भई पोखरालाई कार्य क्षेत्र बनाएर सामाजिक संस्था हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापा पनि माघे संक्रान्तिको अवसरमा तरुल किन्नकै लागि चिप्ले ढुंगा जानकै हतारो थियो । यस्तै गरि सोही संस्थाका कोषाध्यक्ष तथा रेडियो नेपाल क्षेत्रीय प्रसारणमा कार्यरत हर्क आले मगर पनि घरको लागि तरुल किन्न महेन्द्र पुल जाँदै थिए । पर्वत घर भई हाल पोखराको जिडब्लुएसमा कार्यरत नरेश फगामीलाई अफिस देखि प्राप्त भएको केही समय घरमा बुढीले भनेको तरुल किन्न लखन चोकमा हतारिदै थिए ।
गाउँघरमा त झन मेला नै लगाउँछन् । यस्तै मेलाको झझल्को मेट्नकै लागि म्याग्दीदेखि काठमाडौं आएका मगर लगायत पुन मगरहरुले गठन गरेको संस्था म्याग्दी काठमाडौं सम्पर्क समिति, ललितपुरले नख्खु दोबाटोमा ७ दिने कार्यक्रम आयोजना गरेको नै अहिले ६ वर्ष भो । त्यहाँ यही पुष ३० गते देखि माघे ६ गते सम्म माघे संक्रान्ति मेला मनाउँने कार्यक्रम नै राखेका छन् । जहाँ भलिबल, बास्केटबल, तारो खेल, तम्बोला लगायत दोहोरी गीत र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी प्राप्त भएको छ । माघे १ गते सबै भन्दा बढी मानिसको घुइचो लाग्ने यस संस्थाका अध्यक्ष बताउँछन् । यस्तै गरि नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौंको खुला मञ्चमा एक दिने वृहत माघे संक्रान्ति पर्व मनाउने भएको छ । त्यहाँ पनि विविध साँस्कृतिक कार्यक्रम गरि रमाइलो साथ माघे संक्रान्ति मनाउने कार्यक्रम रहेको छ ।
यसरी नै माघे संक्रान्तिको अवसरमा बुटवलमा आदिवासी जनजाति सम्बन्धी ३ दिने चलचित्र महोत्सव पुष २९ देखि शुरु हुँदैछ । यस चलचित्र महोत्सवको संयोजक मगर चलचित्रकर्मी संघका सदस्य शंकर गाहा मगर छन् । चलचित्रलाई मनोरञ्जनको रुपमा मात्रै नहेरेर विश्वले यसलाई आफ्नो पहिचान बचाउनको लागि लिईरहेको सन्दर्भमा मगर लगायत आदिवासी जनजातिको चलचित्र अवलोकन गरि यस चलचित्र महोत्सवबाट ज्ञान हासिल गर्ने छन् भन्ने कुरा पनि उनले व्यक्त गरेका छन् ।
यसरी नै माघे संक्रान्ति मनाउनको लागि बेलायतमा तयारी भई रहेको जानकारी बेलायत मगर संघका भूपू उपाध्यक्ष बिल पुर्जाले दिएका छन् । बेलायत मगर संघको विभिन्न शाखा– रिडिङ, रसमोर, विम्ली, वेस्ट लण्डनमा माघे संक्रान्ति पर्व मनाउने भएका छन् । त्यहाँ माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा पूख्र्यौली नृत्य पनि प्रस्तुत हुने कुराको जानकारी उनले गराएका छन् । र, मगरहरुले जसरी माघे संक्रान्ति मनाउने योजना गरिरहेका छन् त्यसै गरि थारु समाज भित्र पनि यो पर्वलाई हर्षोउल्लासका साथ मनाउने विभिन्न ठाउँमा कार्यक्रम गर्ने भएका छन् । माघे संक्रान्तिको दिन सरकारी विदा प्राप्त भए पछि यो पर्वको झन रौनकनै अर्कै भएको छ ।
मेजन पुन मगर पोखराबाट
माघे संक्रान्तिले ततायो बजार
Read Time:4 Minute, 49 Second