काठमाडौँ, २८ पुस
नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्ति प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
आज सिंहदरबारमा बसेको कार्यदल बैठकमा अनमिनको बहिर्गमनपछि अनमिनले गर्दै आएको कार्य कसरी गर्ने भन्नेसम्बन्धमा सहमति जुटाउने प्रयास गरिए पनि ठोस निर्णय हुन नसकेको बैठकपछि कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।
बैठकमा आफूहरुले अनमिनलाई सानो आकारको प्राविधिक एकाई बनाएर वा उसको कार्यादेश घटाएर केही समयका लागि म्याद थप्नुपर्ने प्रस्ताव राखेको जानकारी पनि सदस्य पुनले दिए ।
मुख्य तीन राजनीतिक दलको सहमतिमा गठित कार्यदलले समग्र शान्ति प्रक्रियामा सहयोग पु¥याउने भएकाले अनमिनको म्याद थप गर्नु आवश्यक नरहेको भनाइ बाँकी दलहरुको रह्यो ।
अघिल्लो साता बसेको एनेकपा (माओवादी), नेपाली काँगे्रस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठकले अनमिनको बहिर्गमनपछि मुलुकको शान्तिप्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एनेकपा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, काँगे्रसबाट डा मिनेन्द्र रिजाल र कृष्ण सिटौला तथा एमालेबाट गृहमन्त्री भीम रावल र ईश्वर पोखरेल रहेका छन ।
यही पुस ३० गतेदेखि अनमिन फर्केपछि नेपालको शान्ति प्रक्रियालाई कसरी टुङ्गोमा पु¥याउन सकिन्छ भन्ने सम्बन्धमा गठित सो कार्यदलले जतिसक्दो चाँडो सहमति कायम गर्ने प्रयास गरिरहेको जनाइएको छ ।
त्यसअघि बसेको सेना समायोजनसम्बन्धी विशेष समितिको बैठक पनि एकीकृत नेकपा (माओवादी)ले आज प्रधानमन्त्रीको निर्वाचन भएकाले बैठक सार्न आग्रह गरेपछि स्थगित भएको थियो ।