काठमाडौँ, २५ पुस
नयाँ संविधान लेखन कार्यमा देखिएका विवादित मुद्दाको छिनोफानो गर्न बसेको २८ दलको बैठक कुनै निचोडविना नै टुङ्गिएको छ ।
सिंहदरबारमा आज बिहान बसेको सो बैठकमा राज्यको शासकीय स्वरुप, व्यवस्थापिका अङ्गको स्वरुप, सङ्कटकालको प्रावधानका विषयमा छलफल भए तापनि कुनै निष्कर्ष निस्कन सकेन ।
एकीकृत नेकपा (माओवादी)का नेता देवप्रसाद गुरुङले निर्वाचन प्रणालीलाई टुङ्गोमा पु¥याएपछि मात्र राज्यको शासकीय स्वरुप, व्यवस्थापिका अङ्गको स्वरुप, सङ्कटकालको प्रावधानका विषयमा छलफल गर्नुपर्नेमा जोड दिइएको बैठकपछि सञ्चारकर्मीलाई बताए ।
बैठकमा संविधानमा देखिएका विभिन्न ८३ वटा विवादित मुद्दामाथि छलफल भए पनि उल्लेख्य निष्कर्ष नआएको उनले बताए ।
राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि निर्वाचनबाट तीन प्रतिशत मत ल्याउनुपर्ने विषयमा छलफल भए तापनि यसकोसमेत छिनोफानो हुन नसकेको बताइएको छ ।
प्रदेशमा सङ्कटकाल लगाउँदा प्रदेश सरकारलाई विघटन गर्ने वा नगर्ने, सङ्कटकालका समयमा प्रदेशमा केन्द्रको शासन हुने वा नहुने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
यसअघि संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुले आ–आफ्ना धारणा राखिसकेकाले आजको बैठकमा ठूला दलहरुका तर्फबाट आ–आफ्ना धारणा राखेपछि सहमतिको प्रयास गरिएको भए पनि कुनै सहमति जुट्न नसकेको नेपाली काँगे्रसका नेता रमेश लेखकले जानकारी दिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान लेखनका क्रममा देखिएका २१० विवादित मुद्दामध्ये १२७ मुद्दामा यसअघि नै सहमति जुटाइसकेको छ ।
विवादित ८३ मुद्दामाथि संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको अगुवाइमा आवश्यक छलफल गरी किनारा लगाउने सहमतिअनुरुप २८ दलको बैठक निरन्तर बस्दै आएको छ । अर्को बैठक आगामी मङ्गलबार बस्ने भएको छ ।