गौशाला, २० पुस
चिसोको कारण आज महोत्तरीको सदरमुकाम जलेश्वरमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. १ बस्ने किशोरी महराकी पत्नी ४० वर्षीया फूलोदेवी महरा रहेको परिवारजनले जनाएको छ ।
कठ्याङग्रिदो जाडोमा आज बिहान वडा नं. ७ स्थित आफ्नो खेतमा बाली ल्याउन गएकी महरा १२ बजेतिर घर फर्किएको र बालीको भारी आँगनमा राख्ना साथ हातखुट्टा काम्न थालेकाले परिवारजनले अस्पताल लगिरहेको क्रममा उनको बाटोमा मृत्यु भएको हो ।
यता गएराति अत्यधिक चिसोका कारण सिराहमा थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–७ बस्ने ६५ वर्षीय रामविलास पासवान रहेको प्रहरीले जनाएको छ ।
राप्रपा इलाका समिति कार्यालय सिरहामा पियन पदमा कार्यरत पासवानको राति कठ्याग्रिएर मृत्य भएको हो ।
पासवानसमेत सिरहामा कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
अत्यधिक जाडोले निमोनिया रुघाखोकीजस्ता बिरामीको सङ्ख्यासमेत बढ्न गएको सिरहा अस्पतालले जनाएको छ ।
