जनकपुरधाम, १८ पुस । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।
जनकपुर र जलेश्वरमा सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले महासङ्घको जिल्ला शाखाको अधिवेशनअन्तर्गत मध्यपश्चिमाञ्चलका जिल्ला शाखाहरुको माघ २७, पूर्वाञ्चलका जिल्ला शाखाहरुको फागुन १, मध्यमाञ्चलका जिल्ला शाखाहरुको फागुन ४, पश्चिमाञ्चलका जिल्ला शाखाहरुको फागुन ७ र सुदूरपश्चिमाञ्लका जिल्ला शाखाहरुको फागुन १० गते जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरिएको छ ।
त्यस्तै उपत्यकाका तीन जिल्लाको अधिवेशन फागुन १३ गते र प्रतिष्ठान शाखाको माघ २४ गते गर्ने निर्णय गरिएको छ ।
निर्वाचन सम्पन्न गर्न हस्त गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ । समितिका सदस्यमा अधिवक्ताहरु रमेश बराल र दिनमणि पोखरेल रहेका छन् ।
बैठकले महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईका नाममा ‘कृष्णप्रसाद भट्टराई’ नामक राष्ट्रिय पत्रकारिता पुरस्कार यसै वर्षदेखि प्रदान गर्ने निर्णय पनि गरेको छ । पुरस्कारको राशि एक लाख राखिएको छ ।
बैठकले पत्रकारहरुको हकहित संरक्षणका लागि पत्रकार कल्याण योजना र दुर्घटना बिमा योजना लागु गर्ने निर्णयसमेत गरेको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले महासङ्घले मिडिया पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गर्ने अवधारणा पनि अघि सारेको बताए ।