उर्लाबारी, १८ पुस । किराँत धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आगामी चैतमा काठमाडौँमा आयोजना गरिने भएको छ ।
तीनदिने सो महासम्मेलन आगामी चैत २१ देखि २३ गतेसम्म मनाइने आज मोरङको उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमले महासम्मेलनमा देश–विदेशका एक हजार ५०० जनाको सहभागिता रहने जानकारी दिए ।
सो महासम्मेलन सम्पन्न गर्न सङ्घका अध्यक्ष थेगिमको संयोजकत्वमा एक हजार १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
सो महासम्मेलनले ‘विश्व शान्ति तथा मानव एकता’ भन्ने सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।
यसैबीच विश्व शान्तिको कामना गर्दै आजै उर्लाबारीमा महायज्ञको आयोजना गरियो ।
नेपाल बौद्ध गुम्बा, उर्लाबारीको सहयोगमा अहिँसावादी धर्म चक्र सङ्घ, नवलपरासीद्वारा आयोजित सो महायज्ञमा विभिन्न १७ जिल्लाका विशिष्ट गुरु लामा, आङ्गिनी (लमिनी) तथा बौद्ध भिक्षुहरुको सहभागिता थियो ।