बुटवल, १६ पुस ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा (माओवादी) नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने नक्कली अभियानमा लागेको बताएकाछन ।
उनले आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्री स्वीकार्न नसक्ने एमाओवादी अध्यक्ष दाहालले एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाउँछु भनेर उपयोगको रणनीतिमा मात्र लागेको बताए ।
नेता नेपालले एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाउनेबारे पार्टीले कुनै निर्णय नगरेको खुलासा गर्दै यदि उहाँलाई प्रधानमन्त्री बनाउने भए पार्टीले निर्णय गर्ने छ भने ।
प्रेस चौतारी रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले एमाओवादीले अरुलाई उपयोग गरेर चर्चामा आउन खोजेको बताए ।
उनले एकीकृत नेकपा (माओवादी)ले दोहोरो चरित्रको अभियानमा लागेको आरोप लगाउँदै उसले संविधान पनि नबनाउने र जङ्गल पनि नजाने दाबी गरे ।
पहिले संविधानसभा एमाओवादीको माग भए पनि पालुङ्टार बैठकले उसको माग संविधानसभा नभएको पुष्टि गरेको दाबी गर्दै उनले भने– एमाओवादीले जनविद्रोहको कार्यनीति पारित गरेर संविधानको मागलाई छाड्यो ।