जाडो एक्कासी बढेको थियो क्रिसमसको बिहान अर्थात २५ डिसेम्बर शनिबार । अघिल्लो दिन नै डि.बी. पालुङ्वा, बिमल राई, प्रेम राई, उपेन्द्र कोरङी (दाजु गुरुङ्ग), विष्णुनन्द चाम्लिङ, शुशिला थुलुङलाई चुनवानको साहित्यिक छलफलको बारेमा जानकारी र निम्तो दिएको थिएँ । पत्रकार भूपेन्द्र चेमजोङ, साब्लाबुङ चौमासिक साहित्यिक पत्रिको सम्पादक राज कुमार राईलाई पनि फोन गरेको थिएँ । तर उनीहरूको फोनमा कम्प्युटर मात्र एकोहोरो बोलिरहेकोले त्यही कम्प्युटरलाई खबर छोडेँ । सम्झिन त हामीले यस भेलामा सबैलाई सम्झिने गथ्र्र्यौ, तर काम विशेषले होला ध्यान तान्न सकेका थिएनौँ । नियमित भेला हुने डि.बी., बिमल र म छँदै थियौँ । प्रेमजीको औसीपूर्णेमा मात्र उपस्थिति हुन्छ । हामीलाई सधैँ नौलो साथीहरूको उपस्थितिले उत्साह बढाउँछ, उर्जा थप्छ, क्रियाशील बनाउँछ । त्यसैले त्यो दिन पनि उत्साहित थियौँ । कवि, समालोचक, उपेन्द्र कोरेङ्गी, गीत, गजलकार विष्णुनन्द चाम्लिङ र गीतकार, कवियत्री र गायिका शुशिला थुलुङको उपस्थितिले ।
चुनवानको म्याकडोनाल्डमा जाडो छलेर मान्छेहरू क्रिसमस मनाइरहेका थिए । यो समय खुशीले हङकङ हाँसेको समय थियो । नेपालीहरूको उद्यौली पर्वले उमङ्गित पोलेको मासु (वि.वि.क्यु)को मौसम थियो । जुनबेला हामी चुनवानको जाडोमा बसिरहेका थियौँ, समुद्रकिनार, मङ्की हील र टाइमोशन पोलेको मासु (वि.वि.क्यु) ले बजार भएको थियो । पोलेको मासुको सुगन्ध डाँडापाखा घुम्दै बादलतिर उडिरहेको थियो । हामी साहित्यको सानो म्याकडोनाल्डको डबलीमा थियौँ । नयाँ साथीहरूलाई हामीले बोल्न आग्रह ग¥यौँ । विष्णुनन्दले आफ्नो दिनेश सुब्बाले संगीत गरेको रचनाको गेडी गीत सुनाए ।
चिठी लेखे -मायालु/मनको कुरा/कोरेर ४/३, ४/३ = १४ कथन
चोखो माया /दिनेछु /हृदय नै /खोलेर ४/३, ४/३ = १४ कथन
रिवन—३ थेगो
साथै काटौँ /बाँकी जीवन ४/५ = ९ विट
माथिको सुत्र अनुसार गेडी गीतको रचना हुन्छ ।
यो नवीन आविष्कारले मेरो मनमा झ्याम्टा र च्याबु्रङ बजाइरह्यो । यो गेडी लेखाइ कतिको सफल हुन्छ, प्रयोग कसरी हुँदै जान्छ । यसको पनि समालोचना, मूल्याङ्कन हुने नै छ कुनै दिन । जेभएपनि यो नेपाली साहित्यमा नयाँ विधाको आविष्कार थियो । साब्लाबुङ् भरखरै हाम्रो हातमा आइपुगेको थियो, डि.बी.ले चर्चा चलाए । त्यसमा डी.बी.को कविता “अभिव्यक्ति एउटा कुण्ठाको” छापिएको थियो । कविता मिलाएर पत्रिकामा राखिएन भने कविताको आत्मा, शरीर र सौन्दर्य मर्छ, भनौ कविताको हत्या हुन्छ भन्ने चर्चा भयो । त्यही कवितालाई डि.बी.ले वाचन गरे । अरु पनि डि.बी.का अप्रकाशित कविता थिए । त्यसमा कोरङ्गीले सल्लाह र सुझाव दिए । केही वर्ष अघि बाजेको सम्झनामा लेखेको कविता “चौताराको बुढो बरपिपल” शुशिलाले सुनाइन् । बाजेप्रतिको असिम प्रेम थियो कवितामा । प्रश्न र अन्तरवार्ताको प्रयोगात्मक गजल पनि विष्णुनन्दले सुनाए । जाडो मौसमभित्र साहित्य खुलेको न्यांनो वातावरण थियो । केही समय अघि रेखा कविता—९ “आँधी छेक्ने गुलाब” फेसबुक र ब्लास्ट टाइम्स धरानबाट प्रकाशित भएको थियो । त्यही कवितालाई बिमलले विनिर्माण गरेका थिए । त्यसै कवितालाई उसले सुनाए । यो कविता रेखा कविताको प्रयोगमा अति नै परिष्कृत कविता थियो ।
त्यो दिन शनिबारको दिन थियो । प्रत्येक शनिबार मैले शनिबारको कोसेली भनेर फेसबुकमा रेखा कविता राख्दै आएको छु । अहिले रेखा कविता केदार सङ्केत अफगानिस्थान, टंक वनेम बेलायत, असिम मुखिया र हिमाल सुब्बा नेपाल, मनोज बोगटी कालिम्पोङ, दार्जिलिङ, बिमल राई, टंक सम्बाहाम्फे र म हङकङबाट लेख्दै आएका छौँ । रेखा कविता लेख्ने तयारमा छन् डि.बी. पालुङ्वा र देवेन्द्र खेरेस । त्यस्तै थाहा नपाएको अरु पनि होलान् । त्यसो त रेखा कविता कसरी लेख्नुपर्छ ? रेखा कविता के हो ? भनेर बु्रनाइबाट नरेस नाती, यु.केबाट मिजास तेम्बे र जगत नवोदितले सोधेका थिए । एक हप्ता अगाडि मात्र भाषाविद्, समालोचक प्रा.डा. टंक प्रसाद न्यौपानेले धरानबाट सोधिपठाएका थिए । त्यो दिन पनि कविता राख्ने दिन थियो । त्यहाँ राख्ने रेखा कविता १४ “सह—अस्तित्वको समय” मैले सुनाएँ । केही कमिकमजोरी होलान्, सच्चाउनु पर्ला र सुझाव आउँला भन्ने अभिप्रायले । तर त्यो हाम्रो भेलामा पास भयो ।
उपेन्द्र कोरङ्गीलाई नेपाली पद्य साहित्यको निकै ज्ञान रहेछ । कुराकानीको सिलसिलामा राम्रा राम्रा कविताको उदाहरण हालेर गरेको संवाद निकै प्रभावकारी थियो । छलफलमा कविता, गीत, गजल, गेडी, रुवाइ लगायत विविध विषयमा छलफल भयो । विष्णुनन्दको गेडी गीतलाई शुशिलाले लयमा गाउँदा सुनिएको स्वादले दिमागमा छाप मारेको छ ।साहित्यिक छलफलको रसले हामीलाई समाइरहेको थियो । छलफल रसिलो भइरहेपनि समय निकै बितिसकेको रहेछ । हप्तामा एकदिनको छुट्टि । यही छुट्टिलाई घरायसी काम, सामाजिक काम र साहित्यिक भेटघाटमा बिताउनु पर्ने भएकोले बस्ने मन हुँदाहुँदै पनि बाँकी अर्को भेटमा छलफल गर्ने निधो गरेर क्रिसमसको जाडोलाई साहित्यिक कोसेलीले बिदा ग¥यौ ।
त्यो दिनको भेटघाटले हामीलाई उर्जा दियो, साहित्य प्रेम दियो र भावनाको मीठो आदानप्रदान दियो । हामी सद्भाव र सृजनाको मीठो पाहुर बोकेर छुट्टियौँ ।
हगंकगं